30 Apr 2025, Wednesday
30 Apr 2025, Wednesday
उद्योग संगठन मोरङले उद्योगी व्यवसायीहरुले आफ्ना समस्या राख्दा उनीहरुका समस्या समाधानमा गम्भीर बन्न आग्रह गरेको छ ।
२ दिनमा २ जना व्यवसायीहरुले आत्महत्या गरेपछि उद्योग संगठन मोरङले विज्ञप्ति नै जारी गरेर उद्योगी व्यवसायीका पीर मर्का तथा गुनासो सुनेर समाधान गर्न सरकारसँग आग्रह गरेको हो ।
इलामका उद्योगी व्यवसायी प्रेम प्रसाद आचार्य र विराटनगरका व्यवसायी मोहन न्यौपानेले उद्योग व्यवसाय गर्न नसक्ने अवस्था आएको भनेर सुसाइट नोट लेखेर आत्महत्या गरेपछि उद्योग संगठन मोरङले यस्तो आग्रह गरेको हो ।
‘यो दुखद् र मार्मिक घटनाले उद्योगी व्यवसायीले भोग्दै आएको भित्री अन्तरवस्तु र पीडालाई उजागर गरेको छ’ संगठनले भनेको छ ।
देशमै उद्यम व्यवसाय गरेर आत्मसम्मानका साथ जीवनयापन गर्ने चाहना राख्ने उद्यमी व्यवसायीले दुःखद् आत्मदाह रोज्नुले राज्य र राज्यका संचालक, नीति र नियमलाई परिपालना गराउने संयन्त्रलाई गिज्याइरहेको संगठनले दाबी गरेको छ ।
‘यस घटनाबाट पाठ सिकि काम गरी खान पाउने, स्वतन्त्रतापूर्वक वाँच्न पाउने अधिकारको रक्षाका लागि जिम्मेवार अभिभावकको रुपमा राज्य प्रस्तुत हुने गरी नीतिगत र प्रकृयागत सुधारका लागि सम्वन्धित सबैमा अपिल गर्दछौँ’ संगठनले भनेको छ, ‘व्यवसाय संचालनका दौरानमा विभिन्न समयमा आईपर्ने वाधा व्यवधानको एकल रुपमा गरिएको प्रयासलाई असफलताको अन्तिम प्रयासका रुपमा ब्याख्या नगरी यस संगठनको तर्फबाट समाधानका लागि सामूहिक प्रयासका लागि अनुरोध गर्दछौं ।’